जनता टाइम्स

१० भाद्र २०८३, बुधबार २१:१०

भारतीय वायुसेनाको जहाज राहत र उद्धार सामग्री लिएर काठमाडौं आउँदै


काठमाडौं, १० भदौ । नेपालमा बाढीपहिरोबाट प्रभावितका लागि राहत तथा उद्धार सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौं आउने भएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले नेपाल सरकारको आग्रहमा राहत तथा उद्धार सामग्रीसहित भारतीय वायुसेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पठाउन लागेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग टेलिफोन संवाद गर्दै नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताउनुभएको थियो। सोही प्रतिबद्धताअनुसार भारतले राहत तथा उद्धार सामग्री पठाउन लागेको हो।

भारतले यसअघि २०७२ सालको भूकम्पका क्रममा पनि नेपालमा उद्धार टोली पठाएको थियो। उक्त टोलीले रसुवालगायत विभिन्न प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग गरेको थियो।

बुधबार भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म ७२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।