काठमाडौं, भदौ १० । रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। नेपाल प्रहरीले बुधबार राति ११ः०५ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको जनाएको छ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन्। रसुवागढी प्रहरी चौकीका ९ जनामध्ये एक जना, स्याफ्रुबेँसीका ८ जनामध्ये पाँच जना, मैलुङका ८ जनामध्ये तीन जना, बेत्रावतीका १० जनामध्ये नौ जना र हाकुका ६ जनामध्ये पाँच जना सम्पर्कमा आएका छन्।
मृतकको संख्या १५७ पुग्यो
बाढीपछि विभिन्न जिल्लामा १५७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जना रहेका छन्।
४१ जना उपचाररत
बाढी तथा अन्य घटनामा घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २० जना, राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा एक जना, ग्रिन सिटी अस्पतालमा एक जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जना उपचाररत छन्।
प्रहरीले सम्पर्कविहीन रहेका आफ्ना कर्मचारीको खोजी तथा उद्धारसँगै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई निरन्तरता दिएको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्