जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार ०९:५९

सेनाका पाँच हेलिकोप्टरबाट उद्धार जारी, २ हजारभन्दा बढी सैनिक परिचालन


काठमाडौं, भदौ ११ । रसुवाको भोटेकोसी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेनाका पाँचवटा हेलिकोप्टर परिचालन गरिएको छ।

सेनाका अनुसार बिहीबार प्रभावित क्षेत्रबाट ९७ जनाको उद्धार गरिएको छ। मैलुङस्थित टनेलबाट ३ जना र टिमुरेबाट १४ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। हेलिकोप्टरबाहेक थप ६३ जनालाई पनि सेनाको टोलीले उद्धार गरेको जनाएको छ।

नुवाकोटदेखि चितवनसम्म बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणका लागि २ हजारभन्दा बढी सैनिक परिचालन गरिएको सेनाले जनाएको छ।

गएराति सेनाका ११ वटा टोलीले स्थलमार्गबाट खोज तथा उद्धार कार्य गरेका थिए। आवश्यकताअनुसार प्रभावित क्षेत्रमा राहत सामग्री तथा अन्य सामग्री पुर्‍याउन सेनाका ११ वटा ट्रक परिचालन गरिएको छ।

सेनाका अनुसार हालसम्म राहत सामग्री बोकेका चार सटल टिमुरे पुगिसकेका छन्।

त्यस्तै, नेपाली सेनाको मेडिकल टोली थप गरी त्रिशूली क्षेत्रमा घाइतेको उपचारलाई समेत निरन्तरता दिइएको सेनाले जनाएको छ।