जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार १०:१२

रसुवा बाढीमा बगेर आएका शव पहिचान र व्यवस्थापनमा चुनौती, चितवनमा ६७ शव फेला


चितवन, भदौ ११ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका शव चितवनका नदी किनारमा फेला पर्ने क्रम बढेको छ। बिहीबार बिहान ८ बजेसम्म चितवनमा ६७ वटा शव फेला परेको प्रशासनले जनाएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार नदी किनारका विभिन्न स्थानमा छिनछिनमै शव भेटिन थालेका छन्। फेला परेका शवको पहिचान गर्नसमेत कठिन भइरहेको उहाँले बताउनुभयो।

शव पहिचानका लागि प्रशासनले हेल्प डेस्क स्थापना गरी मृतकका आफन्तलाई सम्पर्क गर्न आह्वान गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो।

शव व्यवस्थापनमा थप चुनौती

चितवनका अस्पतालमा एकैपटक ५० भन्दा बढी शव व्यवस्थापन गर्न सक्ने क्षमता नरहेकाले शव राख्ने व्यवस्थापनमा समेत समस्या भएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार वैकल्पिक रूपमा शव राख्ने स्थानको व्यवस्था गर्नुपर्ने अवस्था आएको छ। त्यसका लागि एउटा खाली सरकारी भवनलाई व्यवस्थापन गरी शव राख्ने तयारी भइरहेको उहाँले बताउनुभयो।

रसुवाको बाढीपछि त्रिशूली तथा नारायणी नदीको बहावसँगै बगेर आएका शव चितवनका विभिन्न क्षेत्रमा भेटिने क्रम जारी रहेकाले खोजी, पहिचान र व्यवस्थापनका लागि प्रशासनले आवश्यक समन्वय गरिरहेको जनाएको छ।