काठमाडौं, भदौ ११ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई सरकारले थप तीव्रता दिएको छ। सरकारले थप १० वटा हेलिकोप्टर परिचालन गरेको छ भने २० वटा हेलिकोप्टर तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार सरकारका सम्पूर्ण संयन्त्र बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्। नेपाली सेनाले बुधबार राति नै प्रभावित क्षेत्रमा खाद्यान्न, टेन्ट र औषधिलगायत अत्यावश्यक राहत सामग्री पुर्याएको थियो।
उद्धार तथा खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै निजी क्षेत्रका हेलिकोप्टरसमेत परिचालन भएका छन्। सुरक्षा निकायका टोलीले रातभर स्थलमार्गबाट खोज तथा उद्धार कार्य जारी राखेका थिए।
बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी तथा नदी तटीय क्षेत्रमा नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरसँगै पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि र टेन्ट पुगिसकेको तथा सञ्चार सेवा सहज बनाउन पोर्टेबल मोबाइल टावर, जेनेरेटर, सोलार र पावर ब्याकअप उपकरण पठाइँदै गरेको जानकारी दिनुभएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टरमार्फत बिहीबार बिहान ६ः३० बजेदेखि २० वटा हेलिकोप्टर तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको सरकारका प्रवक्तासमेत रहनुभएका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।
१६२ जनाको शव फेला
नेपाल प्रहरीको पछिल्लो बुलेटिनअनुसार बाढीमा परी विभिन्न आठ जिल्लामा १६२ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।
४२ घाइते काठमाडौं ल्याइए
विपद्का घटनामा घाइते भएका ४२ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये ९ जना डिस्चार्ज भइसकेका छन् भने ३३ जनाको उपचार भइरहेको छ।
छाउनी अस्पतालमा एक जना उपचाररत छन्। वीर अस्पतालमा ल्याइएका चार जनामध्ये तीन जना डिस्चार्ज भएका छन् भने एक जनाको उपचार भइरहेको छ।
सरकारले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सर्न तथा विपद्का बेला धैर्य र संयम कायम राख्न पुनः आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्