काठमाडौं, भदौ ११ । चीनतर्फबाट आएको विनाशकारी बाढीका कारण पृथ्वी राजमार्गसहित धादिङ, नुवाकोट र रसुवाका विभिन्न सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। सडक विभागका अनुसार केही सडक सञ्चालनमा आए पनि धेरै ठाउँमा बाढीले बगाएर ल्याएको ढुंगा, माटो, काठ तथा गेग्रान थुप्रिएकाले यातायात प्रभावित भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत गलौदी–मुग्लिङ सडकखण्ड भने पूर्ण रूपमा सञ्चालनमा रहेको छ। तर बैरेनी–गलौदी खण्डको चनौटे आसपास २३ किलोमिटर ७०० मिटरदेखि ३६ किलोमिटर ७०० मिटरसम्मको क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ।
बैरेनी खण्डको २३ किलोमिटर ७०० मिटरदेखि २५ किलोमिटरसम्म करिब १.३ किलोमिटर सडकमा २ देखि ३ मिटर उचाइसम्म गेग्रान थुप्रिएको छ। त्यस्तै, २८ किलोमिटर ४०० मिटरदेखि २९ किलोमिटर ५० मिटरसम्मको क्षेत्रमा ठूला ढुंगा, उखेलिएका रुख तथा बाक्लो हिलो जमेको छ।
३१ किलोमिटर ५०० मिटरदेखि ३२ किलोमिटर ७५० मिटरसम्म तथा ३५ किलोमिटर ८०० मिटरदेखि ३६ किलोमिटर ६०० मिटरसम्मको सडकमा पनि करिब ३ मिटर उचाइसम्म गेग्रान थुप्रिएको सडक विभागले जनाएको छ। अहिले गेग्रान हटाउने काम भइरहेको छ।
गल्छी–त्रिशूली सडकखण्ड प्रभावित
गल्छी–त्रिशूली–बेत्रावती सडकखण्डमा पनि बाढीले व्यापक क्षति पुर्याएको छ। कोल्पुखोला पुलमा क्षति पुगे पनि हाल हलुका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था रहेको विभागले जनाएको छ।
देवीघाट क्षेत्रमा करिब ५०० मिटर सडकमा गेग्रान थुप्रिएको छ भने देवीघाट पुल बाढीले बगाएको छ। त्रिशूली क्षेत्रमा पनि करिब ५०० मिटर सडकमा गेग्रान जमेको छ।
तिर्तीरे भिरमा करिब ३०० मिटर सडक बाढीले बगाएको छ। उक्त क्षेत्रमा सडक सफा गर्ने काम भइरहे पनि बिहीबार नै सडक सञ्चालनमा आउने सम्भावना न्यून रहेको विभागले जनाएको छ।
बेत्रावती–धुन्चे सडक सम्पर्कविहीन
काठमाडौं–नुवाकोटतर्फ भने गुर्जे–छहरे–विदुर सडकबाट आवतजावत गर्न सकिने अवस्था रहेको छ। तर बेत्रावती पुल बाढीले बगाएपछि बेत्रावतीदेखि धुन्चेसम्मको सडक सम्पर्क विच्छेद भएको छ।
बेत्रावती–मेलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको अवस्था भने अत्यन्तै गम्भीर रहेको सडक विभागले जनाएको छ। विभिन्न स्थानमा सडक नै बाढीले बगाएकाले समग्र सडकखण्ड प्रभावित भएको छ। उक्त खण्डको हालको अवस्था यकिन गर्नसमेत कठिन भइरहेको विभागको भनाइ छ।
बाढीपहिरोका कारण सडक र पुलमा ठूलो क्षति भएपछि उद्धार, राहत तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या देखिएको छ। सडक विभागले क्षतिग्रस्त क्षेत्रमा गेग्रान हटाउने तथा आवागमन सहज बनाउने कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्