जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार १०:२२

बाढीपीडितका लागि अमेरिकाले नेपाललाई ५ लाख डलर सहयोग गर्ने


काठमाडौं, भदौ ११ । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि अमेरिकाले ५ लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा राहत तथा सहयोग पुर्‍याउन ‘डिजास्टर असिस्टेन्स रेस्पोन्स एडभाइजर’लाई समेत नेपाल पठाउन लागेको जनाएको छ।

विदेश मन्त्रालयका अनुसार उक्त मानवीय सहायता ‘क्याथोलिक रिलिफ सर्भिसेज’सँगको ग्लोबल अवार्डमार्फत उपलब्ध गराइनेछ। यसबाट बाढी प्रभावित समुदायलाई आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सेवा उपलब्ध गराउन सहयोग गरिनेछ।

अमेरिकी विदेश मन्त्रालयले प्रभावित क्षेत्रमा पठाइने सल्लाहकार कुन क्षेत्रमा खटिने भन्नेबारे भने खुलाएको छैन। प्राकृतिक विपद्का बेला आवश्यक मूल्यांकन तथा समन्वयका लागि अमेरिकाले यस्ता विशेषज्ञ परिचालन गर्दै आएको जनाइएको छ।

यसैबीच, काठमाडौंस्थित अमेरिकी दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्था बुझ्ने तथा आवश्यक सहयोग उपलब्ध गराउने काम गरिरहेको विदेश मन्त्रालयले जनाएको छ।