जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार १०:२४

चीनको दूतावासद्वारा बाँध फुटेको दाबी खण्डन, हिमपहिरोका कारण बाढी आएको भनाइ


काठमाडौं, भदौ ११ । काठमाडौंस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा आएको बाढी र पहिरोबारे फैलिएका केही दाबी तथा समाचार भ्रामक र असत्य रहेको जनाएको छ।

दूतावासले सामाजिक सञ्जालमार्फत आधिकारिक धारणा सार्वजनिक गर्दै चीनतर्फको बाँध वा पूर्वाधार फुटेका कारण नेपालमा बाढी आएको तथा चीनले समयमै पूर्वसूचना नदिएका कारण नेपालतर्फ ठूलो जनधनको क्षति भएको भन्ने दाबीको खण्डन गरेको हो।

दूतावासका अनुसार अगस्ट २६ अर्थात् भदौ १० गते बिहान नेपालतर्फ गएको भूकम्प वा भूकम्पजस्तो हिमपहिरोका कारण ठूलो मात्रामा लेदो र पहिरो खसेको थियो। त्यसबाट ग्याइरोङ–रसुवागढी सीमा क्षेत्रका नेपाल र चीन दुवैतर्फ ठूलो जनधनको क्षति भएको तथा धेरै नागरिक सम्पर्कविहीन भएको दूतावासले जनाएको छ।

आरोपभन्दा उद्धारमा जोड

विपद्को यस्तो संवेदनशील अवस्थामा आरोप–प्रत्यारोपले समस्या समाधान नगर्ने भन्दै चिनियाँ दूतावासले खोज, उद्धार तथा राहत कार्यमा सहकार्य र समन्वयलाई प्राथमिकता दिन आग्रह गरेको छ।

दूतावासले ‘आरोपले केही हल गर्दैन, सहकार्यले मात्र जीवन बचाउँछ’ भन्दै दुवै देशका सीमावर्ती क्षेत्रमा प्रभावितको खोजी, उद्धार तथा राहतका लागि आपसी सहयोग आवश्यक रहेको जनाएको छ।