जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार १०:२७

भारतले बाढीपीडितका लागि १० टन राहत सामग्री र औषधि पठायो


काठमाडौं, ११ भदौ । भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १० टन मानवीय सहायता सामग्री र अत्यावश्यक औषधि पठाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत नेपालमा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारतले मानवीय सहायता तथा आवश्यक औषधि पठाएको जानकारी दिनुभएको हो।

प्रधानमन्त्री मोदीले बाढीमा ज्यान गुमाएकाका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताउनुभएको छ।

भोटेकोसीसहित विभिन्न नदीमा आएको भीषण बाढीका कारण नेपालका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरणको काम जारी रहेका बेला भारतले मानवीय सहयोग उपलब्ध गराएको हो।

भारतले पठाएको १० टन सहायता सामग्रीमा बाढी प्रभावितको तत्काल आवश्यकता पूरा गर्न आवश्यक राहत सामग्री तथा अत्यावश्यक औषधि रहेको जनाइएको छ।