काठमाडौं, भदौ ११ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढी करिब ६ घण्टामै नारायणी नदीसम्म पुगेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले बाढीको बहाव, गति र विभिन्न जलमापन केन्द्रमा गरिएको मापनका आधारमा यसको विस्तृत प्राविधिक विवरण सार्वजनिक गरेको छ।
महाशाखाका अनुसार भू–उपग्रह तस्वीर तथा प्रारम्भिक तथ्यांक विश्लेषण गर्दा नेपाल–चीन सीमा क्षेत्रनजिक हिमपहिरो गएपछि आकस्मिक रूपमा ठूलो बाढी आएको देखिएको छ।
सीमाबाट करिब एक किलोमिटर तल रहेको रसुवागढी जलमापन केन्द्रले बिहान ८ः४० बजे अन्तिमपटक विवरण पठाउँदा भोटेकोशीको जलसतह १.६२ मिटर थियो। उक्त केन्द्रमा सतर्कता तह ६ मिटर र खतरा तह ७ मिटर तोकिएको छ। त्यसपछि बाढीले केन्द्र नै बगाएपछि विवरण आउन बन्द भएको थियो।
त्यसको केही समयपछि बिहान ८ः५० बजे स्याफ्रुबेँसी जलमापन केन्द्रमा जलसतह ३.८ मिटर मापन भएको थियो। त्यहाँ सतर्कता तह ५.५ मिटर रहेकामा त्यसपछि बाढीले जलमापन केन्द्र बगाएको महाशाखाले जनाएको छ।
बेत्रावतीदेखि देवघाटसम्म बढ्यो बाढी
सीमाबाट करिब ३६ किलोमिटर तल रहेको बेत्रावतीमा बिहान ९ः२० बजे त्रिशूली नदीको जलसतह ३.५५ मिटर मापन भएको थियो। त्यहाँ सतर्कता तह ४.१ र खतरा तह ५.५ मिटर रहेको छ। त्यसपछि बेत्रावतीको जलमापन केन्द्रले समेत विवरण पठाउन छाडेको थियो।
मलेखुको फुर्के जलमापन केन्द्रमा बिहान ११ः२६ बजे जलसतह ७ मिटर पुगेको थियो भने ११ः४० बजे ८ मिटर पार गरेको थियो। त्यहाँ जलसतह उच्चतम १०.४८ मिटर पुगेपछि जलमापन केन्द्रसमेत बाढीले बगाएको महाशाखाले जनाएको छ।
मुग्लिन नजिकको कालीखोलामा दिउँसो २ः१४ बजे बाढीले खतरा तह पार गरेको थियो। कालीखोलामा खतरा तह १२.१ मिटर रहेकामा उच्चतम जलसतह १२.३५ मिटर मापन भएको थियो।
देवघाट जलमापन केन्द्रमा दिउँसो ३ः२० बजे बाढी पुगेको थियो। त्यहाँ साँझ ४ बजे जलसतह ६.५७ मिटरको उच्चतम विन्दुमा पुगेपछि क्रमशः घट्दै गएको महाशाखाले जनाएको छ।
देवघाटमा २ करोड घनमिटर अतिरिक्त पानी
महाशाखाको प्रारम्भिक अनुमानअनुसार देवघाट क्षेत्रमा दिउँसो २ः१० देखि साँझ ६ बजेसम्म आधार बहावभन्दा अतिरिक्त बाढीजन्य पानीको आयतन करिब २ करोड घनमिटर रहेको छ।
भोटेकोशी हुँदै त्रिशूली र त्यसपछि नारायणीसम्म छोटो समयमै ठूलो परिमाणमा पानी, गेग्रान र ढुंगामाटो पुगेका कारण नदी तटीय क्षेत्रमा व्यापक क्षति भएको महाशाखाले जनाएको छ।
६ लाख ७९ हजारलाई एसएमएस
महाशाखाले बाढीको जोखिमबारे बुधबार ६ लाख ७९ हजार नागरिकलाई एसएमएसमार्फत सूचना पठाएको जनाएको छ।
यसैबीच, महाशाखाका अनुसार बुधबार बिहान ८ः२० बजे रसुवागढी सीमा क्षेत्र आसपास २.६ रेक्टर स्केल तथा ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। तर उक्त भूकम्प र आकस्मिक बाढीबीच कुनै प्रत्यक्ष सम्बन्ध रहेको विषयमा प्रारम्भिक प्रतिवेदनले निष्कर्ष नदिएको महाशाखाले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्