काठमाडौं, भदौ ११ । नुवाकोटको विदुर नगरपालिका–स्थित ऐतिहासिक त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय बुधबार आएको भीषण बाढीमा पूर्ण रूपमा क्षतिग्रस्त भयो। तर विद्यालय प्रशासनले समयमै गरेको निर्णयका कारण त्यहाँ अध्ययनरत १ हजार ६४३ विद्यार्थीको ज्यान जोगिएको छ।
बुधबार बिहान कक्षा १२ सम्मका विद्यार्थी प्रार्थना तथा पठनपाठनको तयारीमा रहेका बेला विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई माथिल्लो तटीय क्षेत्र रसुवाबाट फोन आयो। बेत्रावती क्षेत्रमा ठूलो बाढी आएको र थप ठूलो बाढी आउन सक्ने सूचना उहाँले पाउनुभयो।
त्यही समयमा कक्षा १० का एक अभिभावकसमेत विद्यालय पुगेर माथिल्लो क्षेत्रमा बाढी पसेको र आफ्नो छोराछोरी लिन आएको जानकारी दिनुभयो।
बाढी विद्यालयसम्म आइपुग्न करिब १२ देखि १५ मिनेट मात्रै बाँकी रहेको अनुमानपछि प्रधानाध्यापक दवाडी र शिक्षकहरूले तत्काल विद्यालय खाली गराउने निर्णय लिनुभयो। कुनै औपचारिक आदेशको प्रतीक्षा नगरी विद्यार्थीलाई सुरक्षित स्थानतर्फ पठाइएको थियो।
बसबाट घर जाने विद्यार्थीलाई तत्कालै विद्यालयका बसमा पठाइयो भने पैदल जाने विद्यार्थीलाई नजिकैको डाँडा तथा सुरक्षित उच्च क्षेत्रमा लैजान निर्देशन दिइयो।
१५ मिनेटमै विद्यालय बगरमा परिणत
विद्यार्थीलाई विद्यालयबाट निकालिएको करिब १५ मिनेट नबित्दै त्रिशूली नदीको उर्लिएको भेल विद्यालय परिसरमा पस्यो। बाढीले विद्यालय भवन, कक्षाकोठा तथा अन्य भौतिक संरचना बगाएर बगरमा परिणत गरिदियो।
प्रधानाध्यापक दवाडीका अनुसार विद्यार्थीलाई सुरक्षित स्थानमा लैजाँदा शिक्षकहरू आफैँ जोखिममा परेका थिए। उहाँले विद्यालय भएको स्थानबाटै अहिले त्रिशूली नदी बगिरहेको दृश्य देखिने बताउनुभयो।
शिक्षकहरूले करिब १०० विद्यार्थी, विशेषगरी छात्रावासमा रहेका छात्रालाई सुरक्षित रूपमा माथिल्लो डाँडामा पुर्याएका थिए। रातभर अभिभावकसँग सम्पर्क गरी विद्यार्थीलाई क्रमशः परिवारको जिम्मा लगाइएको थियो।
विद्यालयका बस तथा चालकहरू पनि सुरक्षित रहेको बताइएको छ।
दुई जना अझै सम्पर्कविहीन
विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भए पनि समयमै निर्णय लिन सकिएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।
तर विद्यार्थीलाई सुरक्षित स्थानमा पठाएर अन्तिममा विद्यालयबाट निस्किएका एक कार्यालय सहयोगी र निम्न माध्यमिक तहका सामाजिक विषयका शिक्षक सन्तोष परियार भने अझै सम्पर्कविहीन हुनुहुन्छ।
बाढीका कारण टेलिफोन नेटवर्क, विद्युत् तथा सडक सम्पर्क विच्छेद भएकाले विद्यार्थी तथा अभिभावकको अवस्थाबारे समेत तत्काल जानकारी लिन कठिन भइरहेको छ।
समयमै गरिएको निर्णयले विद्यालयमा रहेका १ हजार ६४३ विद्यार्थीको जीवन जोगिएको भए पनि विद्यालयको भौतिक संरचना भने बाढीले पूर्ण रूपमा तहसनहस बनाएको छ।














प्रतिक्रिया दिनुहोस्