जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार २०:१८

चीनले नेपालको आवश्यकता अनुसार आपत्कालीन सहयोग गर्न तयार रहेको जनायो


काठमाडौं, भदौ ११ । चीनले नेपालमा आएको बाढीपहिरोबाट प्रभावितका लागि नेपालको आवश्यकता अनुसार आपत्कालीन सहायता उपलब्ध गराउन तयार रहेको जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बाढीबाट उत्पन्न विपद्का बेला दुवै देशले खोजी तथा उद्धारका लागि नजिकबाट सञ्चार र समन्वय गरिरहेको बताउनुभएको छ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीसँगको कुराकानीमा प्रवक्ता लिनले बाढीपहिरोले चीन र नेपाल दुवैतर्फ ठूलो जनधनको क्षति भएको तथा धेरै मानिस बेपत्ता भएको उल्लेख गर्नुभएको छ।

उहाँले चिनियाँ सरकारका तर्फबाट नेपाल सरकार तथा विपद्बाट प्रभावित सबैप्रति हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ।

२६० विदेशी नागरिक सम्पर्कविहीन

स्थानीय चिनियाँ अधिकारीलाई उद्धृत गर्दै प्रवक्ता लिनले प्रभावित क्षेत्रमा करिब २६० जना विदेशी नागरिक सम्पर्कविहीन रहेको जानकारी दिनुभएको छ।

स्थलगत अवस्था जटिल रहेकाले उक्त विवरणको थप प्रमाणीकरण हुन बाँकी रहेको उहाँले बताउनुभएको छ।

चिनियाँ पक्षले विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन तथा सम्भावित दोस्रो विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्नेमा समेत जोड दिएको छ।