जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार २०:१९

रसुवा पहिरोमा तीर्थयात्री बोकेका ४० यात्रुवाहक सवारी सम्पर्कविहीन


काठमाडौं, ११ भदौ । रसुवामा आएको बाढीपहिरोका कारण मानसरोवर यात्रामा गएका ४० वटा यात्रुवाहक सवारीसाधन सम्पर्कविहीन भएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार तीर्थयात्री बोकेर मानसरोवरतर्फ गएका बस तथा अन्य यात्रुवाहक सवारीसाधन बाढीपहिरोपछि सम्पर्कमा आउन सकेका छैनन्।

महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार सम्पर्कविहीन सवारीसाधनको प्रारम्भिक विवरण संकलन हुन थालेको छ।

‘अरनिको सेवा प्रालिबाट २५ वटा गाडी तीर्थयात्रीलाई लिएर गएका थिए। २५ वटै गाडी कहाँ छन् भन्ने यकिन भएको छैन,’ अध्यक्ष सिटौलाले भन्नुभयो।

त्यस्तै, नमस्ते पासाङल्हामु यातायात कम्पनीका १५ वटा सवारीसाधनमा गएका यात्रुको अवस्थाबारे पनि हालसम्म यकिन विवरण प्राप्त नभएको उहाँले जानकारी दिनुभयो।

अरनिको यातायातका चालक र सहचालक गरी ५० जना बस कर्मचारीसमेत सम्पर्कविहीन रहेकोमा तीन जना भने सम्पर्कमा आएको सिटौलाले बताउनुभयो।

नमस्ते पासाङल्हामु यातायात कम्पनीअन्तर्गत सार्वजनिक यातायात सञ्चालन गर्ने सवारीधनीहरूको समेत ठूलो क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको महासंघले जनाएको छ।

सम्पर्कविहीन यात्रु तथा सवारीसाधनको खोजी र अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको जनाइएको छ।