काठमाडौं, भदौ ११ । सरकारले बाढी, पहिरो र आगलागीजस्ता प्राकृतिक विपद्का समयमा उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका विपद् प्रतिकार्यमा अग्रपङ्क्तिमा खटिने जनशक्तिको सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।
विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीको योगदानलाई प्रोत्साहन तथा सम्मान गर्न सुविधा बढाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
विपद् व्यवस्थापनलाई थप प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने जनशक्तिलाई राज्यका तर्फबाट प्रोत्साहन आवश्यक रहेको भन्दै सुविधा परिमार्जन गरिएको हो।
प्राधिकरणको कार्यकारी समितिको निर्णयअनुसार सम्बन्धित सुरक्षा निकायले तालुकदार मन्त्रालयमा आवश्यक प्रस्ताव पठाउनेछन्। त्यसपछि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाएर भत्ता तथा खाजा खर्च वृद्धि कार्यान्वयन गर्नेछन्।














प्रतिक्रिया दिनुहोस्