जनता टाइम्स

१२ भाद्र २०८३, शुक्रबार ०६:३२

आज श्रावण शुक्ल पूर्णिमा : रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै


काठमाडौं, भदौ १२ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर हिन्दु धर्मावलम्बीहरूले रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधिपूर्वक मनाउँदै छन्।

यस पर्वमा बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ, पोखरी तथा अन्य जलाशयमा स्नान गरी सप्तऋषिको पूजा तथा तर्पण गर्ने परम्परा छ। वशिष्ठ, काश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भरद्वाज ऋषिको स्तुति तथा तर्पण गर्ने गरिन्छ।

आज गुरु–पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने चलन छ। धार्मिक मान्यताअनुसार देवगुरु बृहस्पतिले दानवराज बलिलाई बाँधेर देवगणको रक्षा गरेको स्मरणमा रक्षासूत्र बाँध्ने परम्परा सुरु भएको मानिन्छ।

नयाँ जनै फेर्ने दिन

जनैपूर्णिमाका दिन तागाधारी समुदायले पुरानो जनै त्यागेर मन्त्रजप गरी नयाँ जनै (यज्ञोपवीत) धारण गर्ने परम्परा छ। जनै फेर्नुअघि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण दिने गरिन्छ।

धार्मिक मान्यताअनुसार नयाँ जनै धारण गर्दा आयु, बुद्धि, तेज र बल वृद्धि हुनुका साथै मानिस अनुशासित र विवेकशील बन्ने विश्वास गरिन्छ।

दाजुभाइ–दिदीबहिनीबीच राखी बाँध्ने चलन

जनैपूर्णिमासँगै दाजुभाइ तथा दिदीबहिनीबीच राखी बाँध्ने परम्परा पनि पछिल्लो समय देशभर व्यापक बन्दै गएको छ।

दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्ने तथा दाजुभाइले उपहार वा दक्षिणा दिँदै दिदीबहिनीको रक्षाको वचन दिने चलन छ।

विशेषगरी तराई क्षेत्र तथा भारतमा प्रचलित राखी बाँध्ने परम्परा अहिले नेपालका विभिन्न समुदायमा समेत फैलिएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनैपूर्णिमाले पारिवारिक आत्मीयता र सामाजिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिन्छ।