काठमाडौं, भदौ १२ । देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान आसपास रहेको छ।
दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
हिमाली क्षेत्रमा हिमपातको सम्भावना
विभागका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
कोसी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
त्यस्तै, मधेस तथा कोसी प्रदेशका तराई भूभागका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्