जनता टाइम्स

१२ भाद्र २०८३, शुक्रबार ०८:४५

भोटेकोशी बाढी : ४६९ जनाको शव फेला, रसुवामा राहत–उद्धार प्रभावकारी नभएको गुनासो


काठमाडौं, १२ भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान ७ बजेसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न स्थानमा गरी ४६९ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।

बाढीबाट मृत्यु हुने तथा घाइतेको संख्या अझै बढ्न सक्ने जनाइएको छ। मृतक, बेपत्ता तथा विस्थापितको यकिन विवरण भने आउन सकेको छैन।

प्रभावित क्षेत्रमा खोजी, उद्धार, उपचार तथा राहतका लागि सरकारले राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हवाई तथा स्थलमार्गबाट उद्धार कार्य जारी छ।

रसुवामा सरकारी उपस्थितिमाथि प्रश्न

यता, रसुवाका स्थानीय जनप्रतिनिधिले बाढी प्रभावित क्षेत्रमा संघीय सरकारको उद्धार, राहत तथा उपचार प्रभावकारी हुन नसकेको गुनासो गरेका छन्।

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले संघीय सरकार आकाश र सामाजिक सञ्जालमा देखिए पनि प्रभावित जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम हुन नसकेको बताउनुभएको छ। उहाँले विकट क्षेत्रमा समेत सरकारको तत्काल ध्यान पुग्नुपर्ने बताउनुभएको छ।

अध्यक्ष अर्यालका अनुसार नदी किनारमा ठूलो संख्यामा शव रहेका छन्। ती शव सड्न थालेपछि गाउँमा दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढेको उहाँले बताउनुभएको छ।

परिवारका सदस्यले पहिचान गरेका शव दाहसंस्कार गर्न खोज्दा पनि फिल्डमा खटिएका प्रहरीले माथिल्लो आदेश आवश्यक रहेको बताउने गरेको उहाँको गुनासो छ।

बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मीसमेत सम्पर्कविहीन रहेको तथा कालिकास्थानमा खटिएका केही प्रहरी कर्मचारीले पर्याप्त खाना र पानीबिनै उद्धार तथा सुरक्षा कार्यमा खटिनुपरेको अध्यक्ष अर्यालले बताउनुभएको छ।