काठमाडौं, भदौ १२ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी र शव व्यवस्थापनमा ढिलाइ भएको जनगुनासोपछि सरकारले खोजी कार्यमा खटिँदै आएको सैनिक जनशक्ति बढाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शुक्रवार जनस्तरबाट आएका त्यस्ता गुनासोलाई गम्भीरताका साथ लिँदै विशेष टोली परिचालन गरिएको जानकारी दिएको हो।
‘बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १२ सय सैनिक जनशक्ति परिचालन गरिएको छ,’ प्रधानमन्त्री कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ।
नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
यसअघि नागरिकहरूको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि १६ सय जनशक्ति खटिँदै आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
‘आज (शुक्रवार) थप १२ सय सैनिक परिचालन गरेसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालन हुने नेपाली सेनाको कुल संख्या २ हजार ८ सय पुगेको छ। नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सैनिक टोलीले निरन्तर रूपमा शव फेला पार्ने र संकलन गर्ने कार्यलाई अघि बढाइरहेको छ,’ प्रधानमन्त्री कार्यालयले भनेको छ।














प्रतिक्रिया दिनुहोस्