काठमाडौं, भदौ १२ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार अपराह्न तीन बजेसम्मको विवरण अद्यावधिक गर्दै विभिन्न जिल्लाबाट ती शवहरू सङ्कलन गरिएको जानकारी दिएको हो ।
प्रहरीको तथ्यांकअनुसार बाढीमा परी रसुवामा १३, धादिङमा ४०, गोरखामा ४४, नवलपरासी (पूर्व) मा १३४, नुवाकोटमा ३८, चितवनमा २२१, तनहुँमा २९ र नवलपरासी (पश्चिम) मा २८ जनाको शव फेला परेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि ४,४७३ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीका कारण २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। तीमध्ये १ जना प्रहरी कर्मचारीको शव भने मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बाढीबाट घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्या १,४७३ पुगेको छ। जसमध्ये रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेका छन्। प्रहरीका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भइसकेका घाइतेहरूको सङ्ख्या ९४ रहेको छ।














प्रतिक्रिया दिनुहोस्