जनता टाइम्स

१२ भाद्र २०८३, शुक्रबार १७:३४

पाकिस्तानी प्रधानमन्त्री शरिफले गरे प्रधानमन्त्री बालेनसँग टेलिफोन सम्वाद, के भयो कुराकानी ?


काठमाडौं, भदौ १२ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफबीच कुराकानी भएको छ।

शुक्रबार पाकिस्तानी प्रधानमन्त्री शरिफले प्रधानमन्त्री शाहसँग कुराकानी गरी रसुवाको घटना प्रति दुःख व्यक्त गर्नुभएको हो । शरिफले सामाजिक सञ्जाल एक्समार्फत सम्वादको जानकारी दिँदै नेपालमा आइपरेको यस दुखद् घडीमा पाकिस्तान नेपाल सरकारको साथमा रहेको बताउनु भएको छ ।

‘आज दिउँसो नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गर्दै हालै आएको आकस्मिक बाढी र पहिरोका कारण भएको अमूल्य मानवीय क्षति तथा व्यापक विनाशप्रति हार्दिक समवेदना व्यक्त गरेँ,’ प्रधानमन्त्री शरिफले भन्नुभएको छ । साथै पूर्ण साथ रहेको बताउँदै पाकिस्तानले पनि आपतकालीन राहत सामग्री पठाउने जानकारी दिनुभएको छ ।

‘यस दुःखद् घडीमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा पूर्ण रूपमा उभिएको छ। मैले प्रधानमन्त्री शाहलाई पाकिस्तानको पूर्ण सहयोग रहने विश्वास दिलाउँदै जारी उद्धार तथा राहत प्रयासमा योगदान पुर्‍याउन पाकिस्तानले आपत्कालीन राहत सामग्री पठाउन लागेको जानकारी गराएँ,’ पाकिास्तानी प्रधानमन्त्री शरिफले लेख्नुभएको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शाहसँग बुधबार कुराकानी गर्नुभएको थियो । भारत सरकारले नेपाल सरकारलाई राहतको सामग्री पठाइसकेको छ।