जनता टाइम्स

१२ भाद्र २०८३, शुक्रबार २०:०८

सरकारी विपद् कोषमा ३६ घण्टामै झन्डै २ अर्ब रुपैयाँ सङ्कलन


काठमाडौं, १२ भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै झन्डै २ अर्ब रुपैयाँ सहयोग जुटेको छ।

अर्थ मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहीबार राति १२ बजेसम्म १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम सङ्कलन भएको हो। विभिन्न दाताले १० वटा वाणिज्य बैंकमा रहेको कोषको खातामा रकम जम्मा गरेका छन्। यो रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहयोग भने समावेश छैन।

बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि सर्वसाधारणदेखि विभिन्न संघसंस्था तथा निजी क्षेत्रले कोषमा सहयोग रकम जम्मा गर्न थालेका हुन्।

नयाँ रकम थपिएसँगै कोषमा रहेको कुल बचत ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने तथा सहयोगको समन्वय गर्न अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। कोषमा सहयोग रकम जम्मा हुने क्रम अझै जारी रहेको छ भने निजी क्षेत्र, गैरसरकारी संघसंस्था, प्रदेश तथा स्थानीय तहबाट पनि राहत घोषणा भइरहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको छ। यस्तै, सचिवस्तरीय बैठकले संघीय कर्मचारीको तहअनुसार १० दिनसम्मको तलब भदौ महिनाको पारिश्रमिकबाट कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

विदेशी मुलुकबाट पनि सहयोग घोषणा हुने क्रम जारी छ। संयुक्त अरब इमिरेट्स (यूएई) ले १ अर्ब ५२ करोड रुपैयाँ, अस्ट्रेलियाले करिब ५५ करोड रुपैयाँ र अमेरिकाले ५ लाख अमेरिकी डलर सहयोग घोषणा गरेका छन्। बेलायत सरकारले ५ मिलियन पाउन्ड तथा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले १२ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

स्वदेशी निजी क्षेत्रबाट गोरखा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ। बीवाईडी साइमेक्सले ७ करोड रुपैयाँ र ग्लोबल आईएमई बैंकले ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र आबद्ध जलविद्युत् आयोजनाले ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

सारस बेभरेज (रेडबुल) ले २ करोड, एनसेल आजियाटा र एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले १–१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रोक्सले ७० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ। त्यसमध्ये ५० लाख रुपैयाँ कोषमा र २० लाख रुपैयाँ बराबरको राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने कम्पनीले जनाएको छ।

शिवशक्ति ग्रुपले ५१ लाख, हिमालयन बुलियन कम्पनीले २१ लाख, उद्योग संगठन मोरङले १५ लाख, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी ग्रुपले १० लाख ५१ हजार, नेपाल लेयर्स कुखुरा पालक संघ र रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले १०–१० लाख रुपैयाँ सहयोग गरेका छन्। कङ्गारु एजुकेशन फाउन्डेशनले ५ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले २५ लाख रुपैयाँ कोषमा सहयोग गरेका छन्। यस्तै, गण्डकी प्रदेश सरकारले ४ करोड र सुदूरपश्चिम प्रदेश सरकारले २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।