जनता टाइम्स

१२ भाद्र २०८३, शुक्रबार २०:०९

भोटेकोशी बाढी : ४० विदेशीसहित ७०६ जनाको उद्धार


काठमाडौं, भदौ १२ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित ४० विदेशीसहित ७०६ जनाको उद्धार गरिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङ क्षेत्रबाट शुक्रबार दिउँसोसम्म ७०६ जनाको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

उद्धार गरिएकामध्ये भारतका २९, जर्मनीका चार, चीनका चार, कोरियाका दुई र ओमानका एक जना नागरिक छन् ।

बाढी प्रभावित जिल्लामा ४ हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । तीनवटै सुरक्षा निकायका फौजले संयुक्त रूपमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण गरिरहेका छन् ।

यस्तै, बाढीमा परी ज्यान गुमाएकामध्ये शुक्रबार दिउँसो ३ बजेसम्म ५४७ जनाको शव फेला परेको छ । रसुवादेखि नवलपरासी पश्चिमसम्म नदीमा शव फेला पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, चितवनमा २२१, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।