काठमाडौं, १३ भदौ । पोखराको मुख्य बजार क्षेत्रमा हिजो बेलुका परेको ठूलो वर्षापछि सडकमा आएको भेलबाढीले बगाउँदा आमाछोरीको ज्यान गएको छ ।
पोखरा महानगरपालिका–१७ जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३० ढुङ्गेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उहाँकी दुई वर्षीया छोरी रानीकाको ज्यान गएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
कमल दाहालले स्कुटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै हुनुहुन्थ्यो । तर ठूलो पानी परेपछि स्कुटर रोकेको अवस्थामा छोरीलाई भेलले बगाएर सडकको नालीमा पुऱ्याएको थियो । छोरीलाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुग्नुभएको थियो ।
त्यसपछि आमाछोरी दुवैलाई भेलले बगाएर बिरौटासम्म पुऱ्याएको थियो । स्थानीयबासिन्दा र प्रहरीले आमाछोरीलाई बिरौटा नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल पुर्याएका थिए । दुवै जनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा आमाको गएराति र छोरी रानीकाको आज बिहान ज्यान गएको हो ।














प्रतिक्रिया दिनुहोस्