काठमाडौं, १३ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
बाढीले धादिङको बैरेनीदेखि गलौदीसम्म काठमाडौं–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा लेदो थुपारेपछि यातायात अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको लेदो पन्छाएपछि शुक्रबार राति ८ बजेदेखि राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।
बैरेनी क्षेत्रमा भने अझै केही लेदो पन्छाउन बाँकी रहेकाले तत्काल दुईतर्फी यातायात सञ्चालनमा ल्याउन नसकिएको उहाँले बताउनुभयो ।
“शुक्रबार राति ८ बजेतिर सडक एकतर्फी सञ्चालनमा ल्याएका हौँ । बाढीका कारण राजमार्गका ठाउँठाउँमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई प्राथमिकतामा राखेर गन्तव्यतर्फ पठाउने काम गरेका थियौँ,” उहाँले भन्नुभयो ।
सडकमा सवारीसाधनको चाप रहेकाले समस्या देखिएका स्थानमा सुरक्षाकर्मी परिचालन गरी यातायात व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो ।
बैरेनी क्षेत्रमा बाँकी रहेको लेदो दुई–चार घण्टामै पन्छाउन सकिने भए पनि सवारीसाधन सञ्चालन भइरहँदा काम गर्न कठिन हुने उहाँको भनाइ छ ।
“बैरेनी क्षेत्रमा केही समस्या छ । दुई–चार घण्टामा उक्त ठाउँको लेदो पन्छाउन सकिन्छ । तर सडकमा सवारी सञ्चालन गरेर लेदो पन्छाउँदा काम गर्न असहज हुन सक्छ,” उहाँले भन्नुभयो, “दुईतर्फी सडक सञ्चालनमा ल्याउने गरी काम गर्ने योजना छ ।”














प्रतिक्रिया दिनुहोस्