जनता टाइम्स

१३ भाद्र २०८३, शनिबार १०:१७

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सशस्त्रले थप्यो जनशक्ति, ४८ सयभन्दा बढी परिचालन


काठमाडौं, १३ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा प्रभावितको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले थप जनशक्तिसहित ४ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।

सशस्त्र प्रहरीले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा बेस क्याम्प स्थापना गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ ।

परिचालित टोलीमा दक्ष खोज तथा उद्धारकर्मी, मास क्याजुअल्टी भेहिकल, शव व्यवस्थापन टोली, शिविर समन्वय तथा व्यवस्थापन टोली तथा चिकित्सकसहितको प्राथमिक उपचार टोली रहेका छन् । भत्किएका संरचनामा खोज तथा उद्धारका लागि छुट्टै ४४ सदस्यीय टोलीसमेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

खोजी कार्यलाई प्रभावकारी बनाउन पाँचवटा ड्रोनसहित विशेष ड्रोन स्क्वाड र सातवटा के–नाइन डग परिचालन गरिएको छ । बाढी प्रभावित विभिन्न स्थानमा गोताखोर टोलीसमेत खटाइएको छ भने थप जनशक्तिलाई तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले एकल प्रयासबाट ३२ जना र अन्य सुरक्षा निकायसँगको संयुक्त प्रयासमा १ हजार ४ सय ७३ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।

भोटेकोशी हुँदै त्रिशूली नदीतटीय क्षेत्रका प्रभावित ४८ वडामा रहेका १ हजार २ सयभन्दा बढी विपद् सूचकमार्फत सूचना संकलन गरी उद्धार कार्यलाई व्यवस्थित बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रभावित नागरिकका लागि विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गर्नुका साथै राहत सामग्री ढुवानीमा समेत सशस्त्र प्रहरी सक्रिय रहेको छ ।

बाढी आएको दिनदेखि नै नुवाकोटमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट हालसम्म १ सय ४३ जनाको उपचार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रभावित क्षेत्रमा ऊर्जा आपूर्तिका लागि आठवटा जेनेरेटर, आवश्यक इन्धन, पाँचवटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डरलगायत अत्यावश्यक सामग्रीसमेत सुरक्षित रूपमा पुर्‍याइएको छ ।

सशस्त्र प्रहरीको एकल प्रयासबाट बाढी प्रभावित क्षेत्रबाट १ सय १० जनाको शव फेला पारिएको जनाइएको छ ।

यस्तै, भोटेकोशी बाढीका कारण नुवाकोटमा फसेका ५९ जनालाई सशस्त्र प्रहरीको सवारीसाधनमार्फत काठमाडौं ल्याइएको छ ।

उद्धार तथा सहायताका लागि सशस्त्र प्रहरी बल नेपालको निःशुल्क हटलाइन नम्बर १११४ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।