काठमाडौँ, भदौ १३ । भोटेकोशी बाढीका कारण रसुवाको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि भारतीय र चिनियाँ प्राविधिक टोली परिचालन गरिएको छ ।
सरकारको अनुमतिमा चीनबाट ६ जना विज्ञ उद्धारका लागि खटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चिनियाँ हेलिकप्टरमार्फत उनीहरू सिधै त्रिशूली क्षेत्रमा अवतरण गरेका हुन् ।
चिनियाँ टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै उद्धार कार्य अघि बढाउनेछ । संयुक्त टोलीले सुरुङभित्रको अवस्था र उद्धारको सम्भाव्यताबारे प्राविधिक अनुगमन गर्नेछ ।
प्रारम्भिक प्राविधिक अनुगमनबाट उद्धार सम्भव हुने देखिए चीनको रसुवा सीमा क्षेत्रमा तयारी अवस्थामा राखिएका थप चिनियाँ विज्ञलाई तत्काल घटनास्थलमा बोलाइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि नै भारतबाट आएको ११ सदस्यीय उच्च विशेष प्राविधिक टोली पनि सुरुङ उद्धारमा परिचालन भइसकेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिनुभयो ।
सुरुङ उद्धारमा नेपाली प्राविधिक जनशक्तिको अनुभव सीमित रहेको र विदेशी विज्ञको सहयोग आवश्यक पर्ने सुझाव आइरहेका बेला सरकारले भारतीय र चिनियाँ टोली परिचालन गरेको हो ।
यसअघि नेपाली सुरक्षाकर्मी तथा प्राविधिक टोलीले सुरुङको मार्ग पत्ता लगाउने उद्देश्यले ड्रिलिङ सुरु गरिसकेको छ ।














प्रतिक्रिया दिनुहोस्