काठमाडौँ, भदौ १३ । नेपाल र चीनतर्फ भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रमुख कारण मानिएको हिमपहिरोको दृश्य एक पर्यटकको क्यामेरामा अञ्जानमै कैद भएको पुष्टि भएको छ ।
तिब्बतको केरुङ काउन्टीमा घुमिरहेका एक पर्यटकले हिमालका सुन्दर दृश्य खिच्ने क्रममा ठूलो हिमनदी पहिरोको दृश्यसमेत क्यामेरामा कैद गर्नुभएको थियो । तर, फुटेज हेर्दा मात्रै उहाँले क्यामेरामा भयानक हिमपहिरो कैद भएको थाहा पाउनुभएको हो ।
चिनियाँ एकेडेमी अफ साइन्सेजका निर्देशक काङ सिचाङका अनुसार स्याटेलाइट नक्सासँग उक्त भिडियो तुलना गर्दा भिडियोमा देखिएको घटना त्यही हिमपहिरो भएको पुष्टि भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चिनियाँ अधिकारी तथा विज्ञहरूले सोही हिमपहिरोका कारण केरुङ नाका हुँदै भोटेकोशी क्षेत्रमा ठूलो मात्रामा लेदोसहितको बाढी आएको पुष्टि गरेका छन् । हिमपहिरो कसरी सुरु भयो भन्ने दृश्य पनि अर्को पर्यटक समूहको क्यामेरामा कैद भएको पाइएको छ ।
द न्युयोर्क टाइम्सका अनुसार बुधबार बिहान तिब्बततर्फको सांग्बु री हिमशिखर अवलोकन गर्न पुगेका पर्यटकहरूले ठूलो आवाज सुनेका थिए । त्यसपछि केही मिनेटसम्म पहिरोको भीषण गडगडाहटले उपत्यका नै थर्किएको उनीहरूले बताएका छन् ।
पहिरोअघि र पछिको भिडियो तुलना गर्दा हिमनदी र चट्टानको ठूलो हिस्सा उपत्यकामा खसेको देखिन्छ । धुलोको मुस्लो उठेको तथा त्यसपछि पनि हिमनदीबाट साना–साना बरफका टुक्रा भिरबाट खसिरहेको दृश्यसमेत भिडियोमा देखिन्छ ।
पर्यटकका क्यामेरामा अञ्जानमै कैद भएका यी दृश्यले भोटेकोशीमा आएको विनाशकारी बाढीको स्रोत पहिचान गर्न महत्वपूर्ण आधार दिएको छ । साथै, उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमलाई समेत घटनाले उजागर गरेको छ ।














प्रतिक्रिया दिनुहोस्