काठमाडौँ, भदौ १३ । नारायणी र राप्ती नदीको तटीय क्षेत्रमा फेला परेका पहिचान हुन नसकेका शवलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गर्न थालिएको छ ।
फिस्लिङदेखि गोलाघाटसम्मको क्षेत्रमा हालसम्म संकलन गरिएका २३३ शवमध्ये ६ वटाको पहिचान खुलेर आफन्तलाई जिम्मा लगाइएको छ । बाँकी शवलाई सुरक्षित रूपमा दफन गर्ने प्रक्रिया अघि बढाइएको हो ।
शवलाई लामो समयसम्म फ्रिजमा राख्न सम्भव नभएपछि जिल्लास्थित सुरक्षा निकाय र सरोकारवालाले अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को प्रोटोकलअनुसार जमिनमुनि सुरक्षित राख्ने निर्णय गरेका हुन् ।
शव व्यवस्थापनका लागि १.५ मिटर गहिरो खाडल खनिएको छ । प्रत्येक शवलाई छुट्टाछुट्टै राखिनेछ भने दुई शवबीच ४० सेन्टिमिटर दूरी कायम गरिनेछ । ठाउँको बचतका लागि एउटा शवको टाउको र अर्को शवको खुट्टा मिलाएर राखिने व्यवस्था गरिएको छ ।
प्रत्येक शवको हात वा खुट्टामा नष्ट नहुने किसिमको ट्याग राखिएको छ । भरतपुरमा संकलन गरिएका शवलाई ‘बीएचएफ ०१, ०२’ लगायतका कोड दिएर नम्बरिङ गरिएको छ ।
शवलाई माटोले पुरेपछि त्यसको ठीक माथि कङ्क्रिटको सामान्य ढलान गरी स्ट्यान्ड बनाइनेछ । जमिनमुनि राखिएको शवको नम्बर र जमिनमाथिको स्ट्यान्डमा राखिएको नम्बर एउटै हुनेछ । यसले भविष्यमा शवको पहिचान खुलेपछि निकालेर परिवारलाई बुझाउन सहज हुनेछ ।
शव व्यवस्थापनका क्रममा संयुक्त मुचुल्का तयार पारिनुका साथै फोटो, भिडियो र भौगोलिक नक्सासमेत सुरक्षित राखिनेछ ।
पहिचान हुन नसकेका सबै शवको डीएनए नमुना संकलन गरिसकिएको छ । बेपत्ता व्यक्तिका आफन्तले सम्बन्धित जिल्ला अस्पताल वा प्रहरी कार्यालयमार्फत आफ्नो डीएनए नमुना उपलब्ध गराउन सक्नेछन् ।
प्रयोगशालामा परीक्षण गर्दा आफन्त र शवको डीएनए मेल खाएमा सुरक्षित रूपमा राखिएको शव निकालेर कानुनी प्रक्रिया पूरा गरी परिवारलाई हस्तान्तरण गरिनेछ ।
नारायणी र राप्ती नदीका विभिन्न भङ्गाला तथा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा अझै शव हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरी निरीक्षकको नेतृत्वमा विशेष विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ । नदी किनारमा दैनिक रूपमा शव खोजी तथा संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।
सडेको र दुर्गन्धित अवस्थामा शव फेला पर्ने भएकाले संकलन तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाका लागि पीपीई सेट, ग्लोभ्स र मास्क अनिवार्य गरिएको छ । शव राख्न पर्याप्त संख्यामा ‘डेड बडी ब्याग’ समेत व्यवस्था गरिएको छ ।
पहिचान हुन नसकेका शवलाई यसरी व्यवस्थापन गर्नु बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका व्यक्तिको सम्मानजनक र वैज्ञानिक रूपमा अन्त्येष्टि तथा भविष्यमा पहिचान खुलेपछि परिवारलाई हस्तान्तरण गर्न सकिने व्यवस्था कायम राख्ने उद्देश्यले गरिएको हो ।














प्रतिक्रिया दिनुहोस्