काठमाडौँ, १३ भदौ । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारका लागि नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका पर्वतारोही र सिम्रिक हेलिकप्टरको टोलीले सुरुङभित्र पुगेर अवस्थाको मूल्याङ्कन गरेको छ ।
टोलीले सुरुङभित्र गहिरो हिलो, माटो तथा लेदो जमेर सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ ।
डोरीको सहायताले सुरक्षित रूपमा अघि बढेको टोली करिब १२० देखि १३० मिटर सुरुङभित्र पुगेको थियो । तर छातीसम्म आउने हिलोका कारण थप अघि बढ्न कठिन भएपछि पूर्ण रूपमा अवरुद्ध स्थानसम्म पुग्न नसकिएको टोलीले जनाएको छ ।
उद्धारलाई प्रभावकारी बनाउन होज पाइप तथा पम्प/मोटर प्रणाली प्रयोग गरी सुरुङभित्र जमेको हिलो र लेदो हटाउनुपर्ने टोलीको सुझाव छ । अवरुद्ध भाग सफा गर्न सके सुरुङभित्र फसेका व्यक्तिसम्म पुग्न सकिने सम्भावना रहेको टोलीले जनाएको छ ।
आजको खोज तथा उद्धारका क्रममा सुरुङबाहिर एक जना मृत अवस्थामा फेला परेका छन् । नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरी घटनास्थलबाट बाहिर ल्याएको थियो ।
सरकारले जहाँ र जुनसुकै समयमा परिचालनका लागि आह्वान गरे पनि खोज तथा उद्धार कार्यमा सहयोग गर्न आफूहरू तयार रहेको पर्वतारोही टोलीले जनाएको छ ।
उद्धार टोलीमा पर्वतारोही आशिष गुरुङ, दोर्जी शेर्पा, जेन्जेन लामा, सविन ठकुरी, तुलिसिङ गुरुङ र पासाङ तेण्डी शेर्पा सहभागी थिए ।














प्रतिक्रिया दिनुहोस्