काठमाडौँ, भदौ १३ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका ल्याउने भएको छ ।
सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई महाधिवेशन गर्न रोक नलगाएपछि देउवा पक्षले आफ्नै ढङ्गले महाधिवेशनको तयारी अघि बढाउने निष्कर्ष निकालेको हो ।
देउवा पक्षको १५औँ महाधिवेशन तयारी समिति संयोजक डा. शशाङ्क कोइरालाले विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहे पनि मंसिरमा कार्यसमितिको पदावधि सकिने भएकाले महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद अदालतमा रहेको अवस्थामा थप विवाद तथा विभाजन निम्त्याउने गतिविधि कुनै पनि पक्षबाट गर्न नहुने विज्ञप्तिमा उल्लेख छ ।
तर, सर्वोच्च अदालतबाट महाधिवेशनसम्बन्धी गतिविधि रोक्न आदेश नआए पनि चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिकाअनुसार तयारी अघि बढाउने देउवा पक्षले जनाएको छ ।
त्यसका लागि क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति तथा निर्वाचन समिति गठनलगायतका काम गर्दै सबै तहका अधिवेशन गरिने विज्ञप्तिमा उल्लेख छ ।
अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिने पनि देउवा पक्षले जनाएको छ ।
विशेष महाधिवेशनबाट बनेको भनिएको कार्यसमितिले गर्ने अधिवेशन तथा महाधिवेशनसम्बन्धी गतिविधिमा सहभागी नहुन र चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गर्ने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरिएको छ ।
गगन थापा नेतृत्वको पक्षले भने असोजमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । यससँगै कांग्रेसभित्र महाधिवेशनको मिति र वैधानिकताका विषयमा विवाद थप चर्किने देखिएको छ ।














प्रतिक्रिया दिनुहोस्