जनता टाइम्स

१३ भाद्र २०८३, शनिबार २१:०९

आज रातिसम्म उद्धार टोली सुरुङमा पस्ने सम्भावना छ : ऊर्जामन्त्री श्रेष्ठ


काठमाडौँ, भदौ १३ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारका लागि आज रातिसम्म उद्धार टोली सुरुङभित्र पस्ने सम्भावना रहेको बताउनुभएको छ ।

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाका परिवारसँग शनिबार भेट गर्दै मन्त्री श्रेष्ठले उद्धारका लागि राति पनि काम नरोकिएको बताउनुभयो ।

‘राति पनि काम रोकेका छैनौँ । यो कामलाई हामीले निरन्तरता दिएका छौँ । आज साँझसम्म टनेल भेट्ने सम्भावना छ,’ उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठका अनुसार सुरुङमा फसेकाको उद्धारका लागि शुक्रबारदेखि डेडिकेटेड हेलिकप्टर परिचालन गरिएको छ । खोज तथा उद्धारका लागि नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयबाट उच्च तहका विज्ञ अधिकारीसमेत परिचालन गरिएको उहाँले बताउनुभयो ।

सुरुङ उद्धारका लागि नेपाली सुरक्षा संयन्त्रसँगै चीन र भारतबाट आएका उद्धार टोलीसमेत परिचालन गरिएको छ ।

उद्धारका लागि आवश्यक स्रोत, साधन र समन्वयमा मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै मन्त्री श्रेष्ठले सुरुङभित्र फसेका नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्नुभयो ।

उहाँले उद्धारअघि नै कुनै माध्यमबाट सुरुङभित्र अक्सिजन पुर्‍याउने प्रयास भइरहेको जानकारी दिनुभयो । ‘उद्धार हुनुअघि कुनै माध्यमबाट अक्सिजन टनेलभित्र पुर्‍याउन प्रयासरत छौँ । उद्धार भएपछि त अस्पतालमा पनि राख्न सकिन्छ,’ उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठसँगको भेटमा पीडित परिवारले सुरुङभित्र रहेकाको अवस्था जीवित वा मृत के हो भन्नेबारे नियमित सूचना दिनुपर्ने, सुरुङभित्र बाँच्न सक्ने वातावरण मिलाउनुपर्ने तथा उद्धारका लागि आवश्यक उपकरण तत्काल व्यवस्थापन गर्नुपर्ने माग राखेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादक संघका अनुसार रसुवा बाढीबाट एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ती आयोजनामा ६ सयभन्दा बढी मजदुर फसेको तथ्यांक रहेको संघले जनाएको छ ।