जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार ०८:३८

सुनकोशीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौं, भदौ १४ । सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ७ः०२ बजे नदीको जलसतह सतर्कता सीमाभन्दा माथि पुगेको हो।

महाशाखाका अनुसार बिहान ६ः५० बजे खुर्कोट जलमापन केन्द्रमा सुनकोशीको जलसतह ७.६९ मिटर मापन भएको थियो। उक्त केन्द्रमा ७.५ मिटरलाई सतर्कता तह र ८.६ मिटरलाई खतराको तह मानिन्छ।

अविरल वर्षाका कारण नदीको जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जलसतहले सतर्कता तह पार गरेसँगै सिन्धुली र रामेछापका नदी तटीय तथा होचा भूभागमा डुबान र कटानको जोखिम बढेको छ।

महाशाखाले नदीको बहाव अझै बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी अपनाउन आग्रह गरेको छ।