जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार ०८:५३

कञ्चनपुर, सिन्धुपाल्चोक र अर्घाखाँचीसहित धादिङ–गोरखा क्षेत्रमा धेरै भारी वर्षा


काठमाडौं, भदौ १४ । पछिल्लो २४ घण्टामा कञ्चनपुर, सिन्धुपाल्चोक र अर्घाखाँचीका केही स्थानसहित धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस अवधिमा कञ्चनपुरमा सबैभन्दा धेरै १४१ मिलिमिटर वर्षा मापन भएको छ। विभागका अनुसार २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनुलाई धेरै भारी वर्षा मानिन्छ।

धादिङ र गोरखाको सीमा क्षेत्रमा पनि धेरै भारी वर्षा भएको छ। आरुघाटस्थित वर्षा मापन केन्द्रमा १२४.४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।

यस्तै, सिन्धुपाल्चोकमा १२३.२ मिलिमिटर र अर्घाखाँचीमा ११५.२ मिलिमिटर वर्षा भएको छ। सिन्धुपाल्चोकमा पछिल्ला केही दिनदेखि निरन्तर मध्यमदेखि धेरै भारी वर्षा भइरहेको विभागले जनाएको छ।

पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशका केही जिल्लाका साथै गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा समेत भारी वर्षा भएको छ। अन्य क्षेत्रमा भने मध्यमदेखि सामान्य वर्षा भएको विभागको तथ्यांकमा उल्लेख छ। आइतबार बिहान भने ती क्षेत्रमा वर्षा केही कम हुँदै गएको जनाइएको छ।

मौसम विज्ञानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ।

धेरै भारी वर्षा भएका क्षेत्रका नदी तथा खोलामा जलसतह बढेर बाढीको जोखिमसमेत बढेको विभागले जनाएको छ। विशेषगरी कञ्चनपुर र अर्घाखाँचीका नदी तथा खोलामा बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।