काठमाडौं, भदौ १४ । यही भदौ १० गते रसुवामा आएको बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव गोरखामा भेटिएको छ।
पाल्पाको तानसेन नगरपालिका–१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ वर्षीय विष्ट बाढीपछि बेपत्ता हुनुभएको थियो। त्रिशूली नदीले बगाएर ल्याएको अवस्थामा उहाँको शव गोरखामा फेला परेको हो।
शव व्यवस्थापनका लागि पोखरा महानगरपालिका–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो। शनिबार परिवारका सदस्यले शव पहिचान गरी अन्त्येष्टिका लागि घर लगेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार मृतक विष्टका दाजु दीपकबहादुरले शवको सनाखत गर्नुभएको हो।
रसुवामा आएको बाढीपछि विभिन्न जिल्लामा फेला परेका १०२ शव पोखरा ल्याइएको छ। शनिबार साँझसम्म ५० शवको परीक्षण सम्पन्न भएको र तीमध्ये १२ जनाको पहिचान भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारजन आउने क्रम बढेको छ। प्रतिष्ठानले शव पहिचान सहज बनाउन स्क्रिनमा तस्बिर हेर्ने व्यवस्था मिलाएको छ।
शव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिनुभएका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार हुलियासहितको विवरण हेल्प डेस्कमा राखिएको छ। परिवारजनले प्रतिष्ठानमा आएर स्क्रिनमार्फत शवको तस्बिर हेर्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभएको छ।














प्रतिक्रिया दिनुहोस्