जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार ०९:२७

भोटेकोशी बाढी : धादिङमा ५१ शव र मानव अंग फेला, सुरक्षित व्यवस्थापनमै चुनौती


धादिङ, भदौ १४ । भोटेकोशी बाढीपछि धादिङमा ५१ शव तथा मानव अंग फेला परेका छन्। नेपाल प्रहरीका अनुसार फेला परेकामध्ये १२ महिला, १२ पुरुष, ६ वटा पहिचान नखुलेका शव र २१ वटा आंशिक मानव अंग रहेका छन्।

फेला परेका शवमध्ये एउटा आफन्तको जिम्मा लगाइसकिएको प्रहरीले जनाएको छ। तर शव राख्न पर्याप्त शवगृह तथा रेफ्रिजरेटिङ कन्टेनर नहुँदा बाँकी शवको सुरक्षित व्यवस्थापनमा समस्या भएको छ।

अस्पतालका शवगृह भरिएपछि अधिकांश शव गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। शव संरक्षणका लागि धादिङबेंसीबाट कम्प्रेसर मेसिन ल्याएर चिस्याउने व्यवस्था मिलाइएको छ। उक्त व्यवस्थाबाट एकपटकमा करिब १० देखि १५ वटा शव राख्न सकिने जनाइएको छ।

तर फेला परेका शव तथा मानव अंगको संख्या बढी भएकाले सुरक्षित भण्डारण गर्न चुनौती देखिएको छ।

पहिचान तथा थप परीक्षणका लागि केही शव र मानव अंग काठमाडौंको शिक्षण अस्पताल तथा पोखरा पठाइएको छ। हालसम्म शिक्षण अस्पतालमा ६ वटा शव र पोखरामा २७ वटा मानव अंग पठाइएको प्रहरीले जनाएको छ।

लामो समयसम्म शवको उचित व्यवस्थापन हुन नसके स्वास्थ्य जोखिमसमेत बढ्न सक्ने चिकित्सकहरूले बताएका छन्।

प्रहरीले शव सङ्कलन, पहिचान र व्यवस्थापनका लागि विशेष टोली परिचालन गरेको जनाएको छ। फेला परेका शवको तस्बिरसहितको विवरण र क्यूआर कोड प्रहरीको वेबसाइटमा राखिएको छ। आफन्तले सोही विवरणमार्फत शव पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।