जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार ०९:२९

रसुवा बाढी : २६९७ जनाको उद्धार, त्रिशूली–३ ‘ए’ को सुरुङ खोजीमा वर्षाले रोकियो


काठमाडौं, भदौ १४ । रसुवामा आएको बाढीपछि प्रभावित नागरिक तथा विदेशी पर्यटकको उद्धार तीव्र पारिएको छ। नेपाली सेनाले आइतबार बिहान ७ बजेसम्म हवाई तथा स्थल मार्गबाट २ हजार ६ सय ९७ जनाको सकुशल उद्धार गरेको जनाएको छ।

सेनाका अनुसार टिमुरे, स्याफ्रुबेंसी, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत २ हजार ४ सय ९७ जना तथा स्थलमार्गबाट २०० जनाको उद्धार गरिएको हो।

हेलिकप्टरमार्फत उद्धार गरिएकामध्ये २१६ जना विदेशी नागरिक रहेका छन्। उनीहरूमा १२१ भारतीय, ७२ चिनियाँ, १५ कोरियाली, चार जर्मन, दुई अमेरिकी, दुई इटालियन र एक ओमानी नागरिक रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाका ८ हजार ३ सयभन्दा बढी सैनिक परिचालन गरिएको छ।

यसैबीच, बाढीले पुरेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ प्रवेशद्वार खोज्ने कार्य वर्षाका कारण प्रभावित भएको छ।

गएराति करिब २ बजेपछि भएको भारी वर्षाका कारण खोलामा पानीको सतह बढेर खोजीका क्रममा खनिएको खाडलमा पानी भरिएपछि रातभर जारी खोजी कार्य केही समयका लागि स्थगित गरिएको हो।

मौसममा सुधार आएलगत्तै सुरुङ प्रवेशद्वारको खोजी कार्य पुनः सुरु गरिने नेपाली सेनाले जनाएको छ।