काठमाडौं, भदौ १४। त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक कटान गरेपछि यातायात आवागमन अवरुद्ध भएको छ।
रसुवाबाट आएको बाढीको बहावले बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएर जोखिमपूर्ण बनेको धादिङ प्रहरीले जनाएको छ।
प्रहरीले सूचना जारी गर्दै सडकको अवस्था जोखिमपूर्ण रहेकाले उक्त स्थानबाट सवारी साधन आवतजावतमा रोक लगाइएको जनाएको छ।
सडकको केही भाग बाढीले बगाएपछि यात्रु तथा सवारी साधन बीच बाटोमै रोकिएका छन्। धादिङका पत्रकार शिवराज आचार्यका अनुसार सडक भासिएर बगेपछि राजमार्गमा यातायात पूर्ण रूपमा प्रभावित भएको छ।
बाढीका कारण सडकमा थप क्षति हुन सक्ने जोखिम रहेकाले तत्काल उक्त क्षेत्रमा यात्रा नगर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्