काठमाडौं, भदौ १४ । रसुवाको टिमुरेमा बाढीपछि माटोमुनिबाट ६० घण्टापछि जीवितै उद्धार गरिएकी ६ वर्षीया बालिका मनिषा उचाईमगरका बाबुआमासँग सम्पर्क भएको छ।
सशस्त्र प्रहरी बलको टिमुरेस्थित बीओपी टोलीले माटोले पुरिएको अवस्थामा बालिका रोएको जस्तो आवाज सुनेपछि खोजी गर्दा मनिषालाई जीवितै उद्धार गरेको थियो।
सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीका अनुसार मनिषाको टाउकोबाहेक शरीरका अधिकांश भाग माटोले पुरिएका थिए। काठको टाँड परेकाले उनको टाउकोको केही भाग भने पुरिनबाट जोगिएको थियो। सोही स्थानबाट आवाज आएपछि प्रहरीले खोजी गरी उनलाई उद्धार गरेको हो।
मनिषाका बाबुआमा पनि बाढीबाट जोगिन सफल भएको खुलेको छ। उनीहरूले बाढीको शक्तिशाली छालले आफूहरूलाई भित्तामा फालिदिएपछि ज्यान जोगिएको सुरक्षाकर्मीलाई बताएका छन्।
मनिषाकी आमा गीता उचाईमगर टिमुरेस्थित ग्लोबल आईएमई बैंकमा कार्यरत रहेको प्रहरीले जनाएको छ। बाबुआमा दुवै अहिले उपचाररत छन्।
उद्धारपछि टिमुरे बीओपीमै राखेर मनिषालाई प्राथमिक उपचार गरिएको थियो। रातभर प्राथमिक उपचारपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई धुन्चे लगिएको थियो।
स्वास्थ्यमा थप समस्या देखिएपछि मनिषालाई काठमाडौं ल्याएर उपचार भइरहेको छ। अहिले मनिषासहित उनका बाबुआमाको पनि एउटै अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
छोरी ६० घण्टापछि जीवितै उद्धार भएको जानकारी बाबुआमालाई समेत गराइएको छ।
यसैबीच, मनिषाको उद्धार गर्ने टिमुरे बीओपीमा कार्यरत नौ जना सशस्त्र प्रहरी भने अझै सम्पर्कविहीन छन्।














प्रतिक्रिया दिनुहोस्