काठमाडौं, भदौ १४। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्तिको यस कठिन घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरोसम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले अहिलेको समय राष्ट्रिय शोक र पीडाको समय भएकाले सबै पक्ष एकजुट भएर विपद्को सामना गर्नुपर्ने बताउनुभयो।
उहाँले विपत्तिलाई साझा दायित्वका रूपमा लिएर उद्धार, राहत र पुनःनिर्माणमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। विपद् व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी अन्य निकायको तुलनामा बढी हुने उल्लेख गर्दै ओलीले राज्यकोषको प्रभावकारी परिचालन नागरिकको उद्धार, राहत र पुनःनिर्माणमा केन्द्रित गर्नुपर्ने बताउनुभयो।
‘यो विपत्ति वास्तवमै राष्ट्रिय शोक र पीडाको समय हो। यस्तो बेला जनता मारमा परिरहेका छन्, त्यसैले यसमाथि कसैले पनि राजनीति गर्नु हुँदैन। यो हाम्रो साझा पीडा हो र यसको समाधान गर्ने दायित्व पनि साझा नै हो,’ ओलीले भन्नुभयो।
उहाँले विपद्को सामना गर्न सबैले उदारता, दृढता र संयमका साथ सहयोगको हात बढाउनुपर्ने बताउनुभयो।
राजधानी नजिकैको प्रदेशमा ठूलो विपत्ति भएकाले घटनाको गहिराइ बुझ्न सहज हुने उल्लेख गर्दै ओलीले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।
उहाँले राजनीतिक दल, संघसंस्था, समाजसेवी तथा परोपकारी निकायलाई समेत एकीकृत रूपमा विपद् व्यवस्थापनमा जुट्न आग्रह गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्