जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार २२:१७

रविले आफ्नै सांसदलाई भने : ‘तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो’


काठमाडौं, भदौ १४ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा पार्टीका केही सांसदबाट भएको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै अनावश्यक स्टन्ट र प्रचारबाजी नगर्न आग्रह गर्नुभएको छ।

आइतबार पार्टीको बैठकमा सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रमा पुगेर रमिता नदेखाउन तथा उद्धार र राहतमा खटिएका निकायलाई असहज हुने गतिविधि नगर्न सांसदहरूलाई सचेत गराउनुभएको हो।

बैठकमा उहाँले केही सांसदका तस्बिर तथा गतिविधि सामाजिक सञ्जालमा देख्दा आफूलाई नरमाइलो लागेको बताउनुभएको थियो।

‘हामीले धेरै नै संयमता अपनाएर काम गर्नुपर्नेछ। अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा गएर स्टन्टबाजी नगरौँ। धेरैजना माननीयहरूको फोटो देखेर मलाई लाज लागेर आयो,’ उहाँले भन्नुभयो।

उहाँले आफूहरू काम गर्न आएको भन्दै प्रभावित क्षेत्रमा जानैपर्ने अवस्था भए सहयोगमा केन्द्रित हुन र अनावश्यक हस्तक्षेप नगर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ।

‘हामी काम गर्न आएका हौँ, सके काम गरौँ, नसके चुप बसौँ। आफ्नो ठाउँबाट सहयोग गरौँ,’ सभापति लामिछानेले भन्नुभयो।

बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीय सरकार तथा उद्धारमा खटिएका प्रतिनिधिसँग अनावश्यक विवाद गर्ने, गालीगलौज गर्ने तथा सामाजिक सञ्जालमा प्रचार गर्ने गतिविधिप्रति समेत उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको थियो।

विपद्को समयमा पुष्टि नभएका तथा विभत्स सामग्री सामाजिक सञ्जालमा सेयर नगर्न पनि सभापति लामिछानेले सांसदहरूलाई निर्देशन दिनुभएको छ।

‘एउटा सानो कुरा सेयर गर्दा पनि अध्ययन गर्नुपर्छ। समाजलाई भाँड्ने काम नगरौँ,’ उहाँले भन्नुभयो।

कतिपय सांसदलाई पटक–पटक निर्देशन दिँदा पनि उस्तै गतिविधि दोहोरिएको भन्दै सभापति लामिछानेले असन्तुष्टि व्यक्त गर्नुभएको थियो।

‘जहाँ दुःख परेको छ, जहाँ समस्या परेको छ, त्यहाँ गएर रमिता नदेखाऊँ। देश शोकमा डुबेको छ। हामीले रमाइलो गर्नुभन्दा यो समस्याबाट कसरी मुक्ति पाउने र सुरक्षा निकायको मनोबल कसरी बढाउने भन्ने विषयमा सोच्नुपर्छ,’ उहाँले भन्नुभयो।

बैठकपछि रास्वपा सचेतक क्रान्तिशिखा धितालले पनि सांसदहरूलाई अनावश्यक प्रचारबाजी नगर्न तथा आवश्यकताबिना बाढी प्रभावित क्षेत्रमा नजान आग्रह गर्नुभएको छ।

यसैबीच, सभापति लामिछानेले आइतबार बाढी प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरूसँग टेलिफोन संवादसमेत गर्नुभएको छ। स्थानीय जनप्रतिनिधिहरूले संघीय सरकारसँग समन्वय गर्न कठिन भइरहेको गुनासो गरेपछि उहाँले आवश्यक समन्वयका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।