जनता टाइम्स

१५ भाद्र २०८३, सोमबार २१:५७

किरियाकर्मका भवन भरिभराउ, बाढीपीडित परिवारलाई ठाउँ पाउनै मुस्किल


काठमाडौं, भदौ १५ । भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई काठमाडौं उपत्यकामा काजकिरियाका लागि ठाउँ पाउनै मुस्किल भएको छ। मृत्यु संस्कारका लागि निर्माण गरिएका अधिकांश सामुदायिक भवन भरिभराउ भएपछि पीडित परिवारलाई किरिया बस्ने स्थानको अभाव भएको हो।

काठमाडौंको पशुपति क्षेत्रमा रहेको किरियापुत्री सेवा सुविधा केन्द्रका सबै कोठा भरिएका छन्। पशुपति विकास कोषका कर्मचारी विश्व सिटौलाका अनुसार सोमबारसम्म केन्द्रका ४० वटै कोठा भरिएका हुन्।

ब्राह्मणको व्यवस्था सहज हुने तथा काजकिरियाका लागि आवश्यक धार्मिक सामग्रीसमेत सजिलै उपलब्ध हुने भएकाले धेरै परिवारले पशुपतिस्थित किरियापुत्री घर रोज्ने गरेका छन्।

सिटौलाका अनुसार दिउँसोसम्म दुई वटा कोठा खाली भए पनि केही घण्टामै तीसमेत भरिएका थिए।

‘यहाँ अघिपछि पनि प्याक हुने ठाउँ हो। रसुवा र नुवाकोटको बाढीपछि झन् भरिभराउ भएको छ,’ उहाँले बताउनुभयो।

पशुपतिस्थित किरियापुत्री सेवा केन्द्रमा कोठा खाली भए/नभएको विषयमा भोटेकोशी बाढीपीडितका आफन्तले निरन्तर सोधपुछ गरिरहेका छन्। केन्द्रमा सामान्य कोठाको दैनिक २०० रुपैयाँ र एट्याच्ड रुमको ५०० रुपैयाँ भाडा रहेको छ।

नुवाकोट–रसुवा क्षेत्रका बासिन्दाको बाक्लो बसोबास रहेको नेपालटार, माछापोखरी, मनमैजु, तारकेश्वरलगायत क्षेत्रमा समेत किरिया बस्ने स्थानको अभाव भएको छ।

यस क्षेत्रको केन्द्रमा रहेको तारकेश्वर गुम्बास्थित किरियापुत्री घर पनि खचाखच भरिएको छ। नुवाकोटबाट बसाइँ सरेर काठमाडौं–१६, नेपालटारमा बस्दै आउनुभएका शिव गिरीका अनुसार १२–१३ वटा कोठा रहेको उक्त भवनमा एउटा पनि कोठा खाली छैन।

‘मैले बिहान बुझ्दा एउटा पनि रुम खाली छैन भन्ने जानकारी पाएँ। यहाँ मात्र होइन, यो क्षेत्रमै किरियापुत्री घर भरिभराउ भएको जानकारी आएको छ,’ उहाँले बताउनुभयो।

तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटीका अनुसार किरिया बस्ने स्थानको अभाव भएपछि निर्माणाधीन भवनसमेत पीडित परिवारका लागि खुला गरिएको छ।

‘हामीले एउटा किरियापुत्री घर निर्माण गरिरहेका थियौँ। १०–१२ वटा रुमसहितको भवन निर्माणाधीन छ। पीडित परिवारलाई किरिया बस्न ठाउँको अभाव भएको जानकारी आएपछि निर्माण सम्पन्न नभए पनि काम चलाउने गरी खुला गरेका छौँ,’ उहाँले बताउनुभयो।

उहाँका अनुसार त्यहाँ पनि कोठा भरिने क्रम जारी छ।

चक्रपथनजिकै वसुन्धरामा रहेको किरियापुत्री घर पनि दुई–तीन दिनदेखि भरिएको छ। मुख्य सडकनजिकै रहेकाले उक्त भवनबारे जानकारी लिन पीडित परिवारका आफन्तहरू पुग्ने गरेका छन्।

व्यवस्थापक राजु सापकोटाका अनुसार वसुन्धरास्थित भवनमा ठाउँ खोज्दै आउनेको संख्या बढेको छ।

‘हिजो–अस्तिदेखि नै यहाँ प्याक भइसकेको छ। मानिसहरू ठाउँ छ कि भनेर सोध्न आइरहनुभएको छ। मैले नजिकका ठाउँमा पनि बुझें, कतिपय ठाउँमा आफैँ पुगेर हेरेँ, तर एउटा पनि खाली भेटिएन,’ उहाँले बताउनुभयो।

सापकोटाका अनुसार वसुन्धरासहित हेराल्ड कलेजअघिको सामुदायिक किरियापुत्री घर, धापासीको डाँफे कोलोनी, बाँसबारी पिपलबोट, गंगालालको गहिरो, भेटघाट चोक र नेपालटार क्षेत्रका किरियापुत्री भवनको अवस्था पनि उस्तै छ।

‘अघिपछि यस्तो अवस्था थिएन। सामान्य थियो। भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएपछि यहाँको अवस्था पनि असामान्य भएको हो,’ उहाँले बताउनुभयो।

त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारीस्थित सामुदायिक किरियापुत्री घर पनि भरिएको छ। स्थानीयवासीले दुई परिवारलाई मात्र धान्न सक्ने क्षमताको भवन निर्माण गर्नुभएको थियो। स्थानीय समाजसेवी इन्द्रबहादुर थापाका अनुसार अहिले भवनका सबै कोठामा किरियाकर्म भइरहेको छ।

यद्यपि, अधिकांश स्थान भरिभराउ भएका बेला काठमाडौंको मीनभवनस्थित सामुदायिक किरियापुत्री भवनमा सोमबार दिउँसोसम्म दुई वटा कोठा खाली थिए।

सिभिल अस्पतालनजिकै रहेको उक्त तीनतले भवन प्रदेश सरकार, काठमाडौं महानगरपालिका र स्थानीयवासीको संयुक्त लगानीमा निर्माण भएको हो। करिब पाँच आना क्षेत्रफलमा बनेको भवनमा दुई वटा कोठा मात्र खाली रहेको बताइएको छ।

काठमाडौं महानगरपालिका–३१ का वडाध्यक्ष सरोज ढकालले मीनभवनस्थित भवनमा कोठा खाली रहेको जानकारी प्राप्त भएको बताउनुभएको छ।

‘रुमहरू आज खाली भएको जानकारी आएको छ। आवश्यक पर्ने कोही हुनुहुन्छ भने पठाइदिँदा हुन्छ,’ उहाँले भन्नुभयो।

आफन्त गुमाउनुको पीडासँगै काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका बाढीपीडित परिवारका लागि अहिले काजकिरिया गर्ने स्थानको अभाव अर्को ठूलो समस्या बनेको छ।

भोटेकोशी बाढीमा ठूलो संख्यामा नागरिकको मृत्यु तथा बेपत्ता भएपछि काठमाडौं उपत्यकाका सीमित किरियापुत्री भवनमा समेत चाप बढेको हो। यस्तो अवस्थामा पीडित परिवारका लागि थप अस्थायी तथा सामुदायिक किरियास्थलको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ।