जनता टाइम्स

१६ भाद्र २०८३, मंगलवार ०८:२४

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, ३ हजार ९२५ अझै सम्पर्कविहीन


काठमाडौँ, भदौ १६ रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी सोमबार साँझसम्म ९३९ जनाको शव फेला परेको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन्।

फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै २७९ जना छन्। यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रबाट सोमबार साँझसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

नेपाली सेनाले मात्रै ३ हजार ४०४ नेपाली र २५३ विदेशी नागरिक गरी ३ हजार ६५७ जनाको हवाई उद्धार गरेको छ। सेनाले खोज तथा उद्धारका क्रममा हालसम्म ४९९ पटक हवाई उडान गरेको छ। सोमबार मात्रै सेनाले ८८ र निजी क्षेत्रका हेलिकोप्टरले २९ वटा हवाई उडान गरेका थिए।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीका ७ हजार ९०९, नेपाली सेनाका ८ हजार ८९६ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ गरी २१ हजार ८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्रभावित नागरिकका लागि खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने कार्यलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ।