काठमाडौं, भदौ १७। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ प्रवेशद्वारमा रहेका कडा ढुंगा विष्फोट गराएर हटाइएको छ। अब सुरुङभित्र जमेको लेदो पन्छाएर उद्धार टोली भित्र प्रवेश गर्ने तयारी गरिएको छ।
प्रतिनिधिसभा सदस्य एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार रातभर सुरुङमा जमेको पानी निकालिएपछि सुरुङको मुखमा रहेका अप्रत्यासित सातवटा कडा ढुंगा विष्फोट गराएर हटाइएको हो।
उहाँले अहिले ढुंगा सफा गर्दै तल झर्ने तथा लेभल डाउन गर्ने काम भइरहेको जानकारी दिनुभएको छ। सुरुङभित्र रहेको लेदो हटाउन लोडर र मिनी एक्स्काभेटरसमेत तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो।
सुरुङ सफा गर्दै करिब १६० मिटर अगाडि बढेपछि पावरहाउस पुगिने र पावरहाउस क्षेत्रलाई मात्र तुलनात्मक रूपमा सुरक्षित स्थान मान्न सकिने न्यौपानेले जानकारी दिनुभएको छ।
भोटेकोशीमा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा केही व्यक्ति फसेको आशंका गरिएको छ। उनीहरूको अवस्थाबारे यकिन गर्न सुरुङ सफा गर्दै खोजी तथा उद्धारको काम अघि बढाइएको छ।














प्रतिक्रिया दिनुहोस्