नवलपरासी, भदौ १७ । रसुवामा आएको बाढीका कारण नारायणी नदी (गण्डक क्षेत्र) हुँदै नवलपरासीसम्म आइपुगेका १९५ शवमध्ये १४५ वटाको व्यवस्थापन गरिएको छ ।
भारतीय क्षेत्रमा फेला परेका १४ शवसहित अझै ५० शवको व्यवस्थापन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
फेला परेका शवमध्ये हालसम्म पाँच जनाको मात्रै सनाखत भएको छ । पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएका सबै शवको व्यवस्थापन भइसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी मदन थापाले जानकारी दिनुभयो ।
परासी अस्पतालमा शव राख्ने ठाउँको अभाव भएपछि केही शवहरू भैरहवास्थित भीम अस्पताल, बुटवलस्थित प्रादेशिक अस्पताल र कपिलवस्तुको पिपरा अस्पतालमा पठाइएको थियो । ती अस्पतालमा रहेका बाँकी शवहरू पनि क्रमशः नवलपरासी ल्याएर व्यवस्थापन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
हालसम्म सुनवल नगरपालिका–४ स्थित मूलपानी सामुदायिक वनको अलकत्रा डाँडा तथा बर्दघाट नगरपालिका–२ स्थित चिसापानी सामुदायिक वनको हाइटेन्सन आसपासका क्षेत्रमा शवहरूको व्यवस्थापन गरिएको छ ।
रसुवाको बाढीपछि नारायणी नदीमा बगेर आएका शवहरू नवलपरासीका विभिन्न क्षेत्रमा फेला परिरहेका छन् । सनाखत हुन नसकेका शवको व्यवस्थापन र पहिचानको प्रक्रिया चुनौतीपूर्ण बनेको छ ।














प्रतिक्रिया दिनुहोस्