जनता टाइम्स

२० भाद्र २०८३, शनिबार ०८:५६

विपद्को घडीमा एआईमार्फत ‘स्टन्ट’ नगर्न ओलीको आग्रह


काठमाडौं, भदौ २० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपद्को समयमा कृत्रिम तस्बिर तथा दृश्य बनाएर प्रचारबाजी नगर्न आग्रह गर्नुभएको छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सस्तो लोकप्रियताभन्दा उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो।

बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै उहाँले अहिले पुरिएका संरचनाबाट धनमाल निकाल्ने, पीडितलाई राहत उपलब्ध गराउने र प्रभावितको उद्धारमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ।

अध्यक्ष ओलीले एआईको प्रयोग गरी कृत्रिम दृश्य निर्माण गरेर आफूलाई जनताको सेवकका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले विपद्को समयमा लोकप्रिय बन्ने नभई पीडितको सेवामा जुट्ने बेला भएको बताउनुभएको छ।

उहाँले प्रचारमुखी गतिविधिभन्दा सेवामुखी काममा ध्यान केन्द्रित गर्दै राहत तथा पुनःस्थापनाका लागि आफ्नो सम्पूर्ण सामर्थ्य परिचालन गर्न सबैलाई आग्रह गर्नुभएको छ।