जनता टाइम्स

२० भाद्र २०८३, शनिबार ०८:५७

नग्न तस्बिर–भिडियो सार्वजनिक गर्ने धम्की दिई ९ लाख ९५ हजार असुली, एक पक्राउ


काठमाडौं, भदौ २० नग्न तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिई महिलासँग रकम असुल गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय कमलबहादुर बुढा रहेका छन्।

प्रहरीका अनुसार बुढाले सामाजिक सञ्जालमार्फत एक महिलासँग सम्पर्क गरी आफू ‘ह्याकर’ भएको दाबी गर्दै ती महिलाका नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको बताएका थिए। ती सामग्री सार्वजनिक गरिदिने धम्की दिँदै उनले पटक–पटक रकम माग गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुढाले धम्की दिएर ती महिलाबाट ९ लाख ९५ हजार रुपैयाँ असुल गरिसकेको पाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुढालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।