जनता टाइम्स

११ पुष २०७६, शुक्रबार ०९:०१

चिनियाँ पक्राउ परे कसुर फेला परेन , अब के हुन्छ ?


काठमाडौं पुस ११ ।  राजधानीका विभिन्न स्थानबाट सोमबार पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिक अध्यागमन नियम उल्लंघनबाहेक अर्को कसुरमा संलग्न रहेको भेटिएको छैन ।

पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद सामग्री, जसलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । लामो अनुसन्धान गरेर पक्राउ गरिएको दाबी प्रहरीको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रारम्भिक अनुसन्धानअनुसार चिनियाँहरूको नेपालमा आपराधिक कार्यमा संलग्नता खुलिसकेको छैन । ‘अहिलेसम्म अनुसन्धानकै क्रममा छौं, चिनियाँ भाषा अनुवादक राखेर बयान लिने काम भइरहेको छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले भन्नुभयो, ‘राहदानी फेला नपरेका र कम्पनी दर्ता नगरी पर्यटक भिसामा काम गरेको पुष्टि भए उनीहरूलाई अध्यागमन विभागको जिम्मा लगाइन्छ ।’ तर कसुर यकिन नभएपछि प्रहरीले चिनियाँलाई ‘प्रहरीमाथि अभद्र व्यवहार गरेको’ आरोपमा ५ दिन थुनामा राखेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका आफ्ना देशका नागरिक सीमापार अपराध र साइबर अपराधमा संलग्न भएको चीनको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत बताइसकेको छ । एसएसपी सुवेदीले पर्यटन विभाग, विश्वभाषा क्याम्पस र प्रहरीमा रहेका चिनियाँ भाषाका जानकार र अन्य उपलब्ध अनुवादकको सहयोगमा चिनियाँसँग बयान लिने काम भइरहेको बताउनुभयो ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले राहदानी नभएका र पर्यटक भिसामा आएर काम गरेको पाइए उनीहरूबाट जरिवाना असुल गरेर चीनमै निष्कासन गरिने जानकारी दिनुभयो । प्रहरीले अनुसन्धान गरेर बुझाएको केही दिनभित्रै आवश्यक प्रक्रिया पुर्‍याएर जरिवाना असुल गरी देशनिकाला गरिनेछ,’ उहाले बताउनुभयो । पक्राउ परेका ८४ जनासँग राहदानी छैन । ६७ वटा राहदानी बरामद भएको र त्यसमध्ये ३८ जनाको नाम मात्रै राहदानीसँग मेल खाएको प्रहरीले जनाएको छ ।