जनता टाइम्स

११ पुष २०७६, शुक्रबार ०९:३६

राजस्व विभागको सक्रियता : भूकम्पपीडितको त्रिपाल खरिदमा नक्कली भ्याट बिल प्रयोग गरेको खुलासा


काठमाडौँ, पुष ११

सहरी विकास मन्त्रालयले भूकम्पपीडितका लागि त्रिपाल खरिद गर्दा नक्कली भ्याट बिलका आधारमा रकम भुक्तानी गरेको भेटिएको छ । २०७२ सालको भूकम्पपछि नक्कली भ्याट बिल प्रयोग गरेर कम्पनीले मन्त्रालयलाई त्रिपाल आपूर्ति गरेको पाइएको हो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले लक्की ए एस इन्टरप्राइजेजले नक्कली भ्याट बिल प्रयोग गरेको पुष्टि भएको जानकारी दिए । ‘नक्कली भ्याट बिल देखिएपछि हामीले ९ करोड ९५ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना माग दाबी गरेर जिल्ला अदालतमा मुद्दा दायर गरिसकेका छौं,’ उनले भने, ‘त्यसमध्ये करिब दुई करोड रुपैयाँ त्रिपाल र अन्य रकम स्टेसनरी सामानबापत बिलको हो ।’

सहरी विकास मन्त्रालयको अभिलेखअनुसार लक्कीले १४ हजार ७ सय ८४ थान त्रिपाल बेचेर एक करोड २३ लाख रुपैयाँ अनियमित रूपमा भुक्तानी लिएको थियो । उसले सहरी विकास मन्त्रालय र अन्य विभिन्न संस्थालाई गरेर त्रिपाल खरिदबिक्रीमा दुई करोडभन्दा बढीको कारोबार देखाएको थियो ।

राजस्व अनुसन्धान विभाग सम्बद्ध स्रोतका अनुसार भूकम्पपछि सरकारी निकायमा त्रिपाल उपलब्ध गराएका दर्जनभन्दा बढी कम्पनी छानबिनको दायरामा तानिएका छन् । अरू केही कम्पनीले पनि नक्कली भ्याट बिल प्रयोग गरेको भेटिएको एक अनुसन्धान अधिकृतको भनाइ छ । तर महानिर्देशक मैनालीले अनुसन्धान जारी रहेको भन्दै लक्कीबाहेक अरू कम्पनीले त्रिपाल खरिद र बिक्रीमा नक्कली भ्याट बिल प्रयोग गरेको पुष्टि भइनसकेको बताए । (कान्तिपुर)