जनता टाइम्स

२२ भाद्र २०८३, सोमबार ०७:१९

त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले जोगाए ९२३ कैदीबन्दी


नुवाकोट, भदौ २ त्रिशूली नदीमा आएको भीषण बाढीका क्रममा नुवाकोट कारागारका ९२३ कैदीबन्दीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका छन् ।

भदौ १० गते बिहान बाढीको सूचना पाएलगत्तै कारागारमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५२ सुरक्षाकर्मीले कैदीबन्दीलाई कारागार परिसरभित्रै सुरक्षित एसेम्बली प्वाइन्टमा पुर्‍याएका थिए ।

कैदीबन्दीलाई सुरक्षित स्थानमा सारिएको केही समयमै बाढी कारागारसम्म पुगेको थियो । बाढीले प्रशासनिक भवन हुँदै कारागारका दुईवटा पेरिमिटर पर्खालमा क्षति पुर्‍याए पनि पर्खालले बाढीको गति कम गरेकाले ठूलो जनधनको क्षति हुन नपाएको सुरक्षाकर्मीले बताएका छन् ।

बाढीका कारण कैदीबन्दीमा त्रास फैलिँदा केही मूल गेटबाट बाहिर निस्किएका थिए । अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ११ राउन्ड हवाई फायर गरेको थियो । त्यस क्रममा भाग्न खोजेका दुई कैदीबन्दीलाई समेत सुरक्षाकर्मीले नियन्त्रणमा लिए ।

बाढी करिब साढे ११ बजेतिर शान्त भएपछि कैदीबन्दीलाई पुनः कारागारभित्र व्यवस्थापन गरिएको थियो ।

बाढीपछि जोखिम बढेकाले कारागारमा रहेका ३२ महिला कैदीबन्दीलाई भदौ १२ गते मकवानपुरको भीमफेदीमा स्थानान्तरण गरिएको छ ।

हाल कारागारमा बालसुधार गृहका १३८ जनासहित ८८७ कैदीबन्दी रहेका छन् । सुरक्षाका लागि सशस्त्र प्रहरीका ६२ र नेपाल प्रहरीका २० जना जनशक्ति परिचालन गरिएको छ ।

बाढीले दुईवटा ब्लक प्रभावित भएपछि कैदीबन्दी र बालसुधार गृहमा रहेका व्यक्तिलाई एउटै युनिटका दुईवटा ब्लकमा राखिएको छ । कमजोर बनेका पूर्वाधार र त्रिशूली नदीको जोखिमका कारण कारागारको संरचना थप सुरक्षित बनाउनुपर्ने आवश्यकता देखिएको सुरक्षाकर्मीले बताएका छन् ।