जनता टाइम्स

२६ भाद्र २०८३, शुक्रबार २१:०५

घर फर्किंदा हराएका युवकको शव सेफ्टी ट्यांकीमा फेला


काठमाडौं, २६ भदौ । महोत्तरीमा घर फर्किने क्रममा हराएका एक युवकको शव दुई सातापछि सेफ्टी ट्यांकीमा फेला परेको छ ।

भंगाहा नगरपालिका–६ का २२ वर्षीय विवेककुमार सरदारको शव शुक्रबार बलवा नगरपालिका–७, बनौटास्थित एक घर पछाडिको सेफ्टी ट्यांकीमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शव टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला परेको छ ।

प्रहरीका अनुसार विवेक भदौ १४ गते साँझ जलेश्वर नगरपालिका–९, पिगौनस्थित दिदीको घरबाट मोटरसाइकलमा आफ्नो घरतर्फ हिँड्नुभएको थियो । तर, उहाँ राति घर नपुगेपछि परिवारले खोजी थालेको थियो ।

दुई दिनसम्म पनि घर नपुगेपछि उहाँका बुवा अशोक वातरले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा खोजतलासका लागि निवेदन दिनुभएको थियो ।

खोजतलासका क्रममा शुक्रबार बलवा नगरपालिका–७, बनौटास्थित अशोककुमार ठाकुरको घर पछाडिको सेफ्टी ट्यांकीमा विवेकको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले घरधनी ५८ वर्षीय अशोककुमार ठाकुर, उनकी पत्नी ५५ वर्षीया रामकली देवी, बुहारी २२ वर्षीया सोनुकुमारी ठाकुर र महोत्तरी गाउँपालिका–५ का ३७ वर्षीय सियाराम शर्मालाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।